अस्कर कलेजको सहकार्यमा फिल्म ‘काठमाण्डु कोरिडोर’ बन्ने
अस्कर कलेजले अब कलेजबाट दीक्षित भएर फिल्म बनाउन बाटो खोजिरहेका प्रतिभाशाली र क्षमतावान् विद्यार्थीहरूलाई फिल्म निर्माणमा सघाउने भएको छ। ‘काठमाण्डु कोरिडोर’ शीर्षकमा कलेजबाट दीक्षित विद्यार्थीहरू र कलेजको सहकार्यमा पहिलोपल्ट निमार्ण हुन लागेको हो।
मिराज मोसन पिक्चर्सको प्रस्तुती तथा अस्कर कलेज र जुन्को पिक्चर्सको सहकार्य रहने ‘काठमाण्डु कोरिडोर’ फिल्मको निर्देशन सुरज कटुवालले गर्नेछन्। सर्ट फिल्महरूबाट आफ्नो दक्षता साबित गरिसकेका कटुवाल अस्कर कलेजकै पटकथा लेखन तथा फिल्म निर्देशनमा दीक्षित विद्यार्थी हुन्। उनले हाल चर्चामा रहेको फिल्म ऊनको स्वीटरको पटकथा सह-लेखन गरेका हुन्। जेठको दोश्रो सातादेखि फिल्म छायांकनमा जान तयारी छ।
फिल्मको निर्माता तथा सिनेमाटोग्राफरको दोहोरो भुमिकामा रहेका उज्जल बस्ताकोटी कान्समा अवार्ड जितेको सर्ट फिल्म लोरी, चिसो एस्ट्रे र पाकिस्तानी फिल्म याज्मिनस् एलिमेन्ट जस्ता फिल्मका सिनेमेटोग्राफर हुन्।
कलेजका प्रधानाध्यापक रामराजा दाहालले सिनेमा पढेका विद्यार्थीलाई कलेज सकेपछि फिल्म निर्माण कहाँ कसरी गर्ने भन्ने ठूलो चिन्ता हुने भएकोले त्यही चिन्ता दूर गर्न कलेजले वर्तमान तथा दीक्षित विद्यार्थीलाई फिल्म निर्माणका लागि सहयोग गर्ने निर्णय लिएको बताए।
काल्पनिक कथाको उतारचढाब भन्दा फरक जिवनका झिना मसिना कुराहरूलाई केलाएर मन छुने कथा भन्न खोजिएको हुँदा यसको तयारी पनि फरक किसिमको भएको निर्देशक सुरज कटुवालले बताए। ‘कलाकार छनोट गर्दा हामीले पात्रसँग नजिक भएका कलाकारहरू छनोट गरेका छौँ। पर्दामा देखिने सम्बन्धहरू स्वतःस्फुर्त नै आओस् भनेर दुई महिना देखि वर्कसप गर्दैछौँ’ उनले भने।
फिल्ममा शान्तिदूत पाण्डे, अञ्जसा रिजाल, गुड्डु, योगेन्द्र राना, इन्दु लम्साल, नुसा लिम्बु, दिपक केसी, सुदन पोखरेल, निरु खड्का, सुवर्ण थापा, सुचित्रा उप्रेती, शाश्वत पाण्डे, कोशिस आचार्यलगायत कलाकारको अभिनय रहने छ।
सर्मिला आलेको सहलेखनमा बन्ने फिल्ममा कृष्ण भण्डारीले सम्पादनको भूमिका निर्वाह गर्नेछन्। सुदाम सिके कास्टिङ निर्देशक छन्।फिल्मको कला निर्देशन मञ्जुश्री नेपालीले गर्नेछिन् आकृति ढुङ्गानाको प्रोडक्सन डिजाइन रहने छ। निर्माण व्यवस्थापन मदन श्रेष्ठले गर्नेछन्।
सहायक निर्देशकहरू सौरभ मल्ल अश्विन थापा, सहायक छायाँकार रञ्जन महत र सहायक निर्माण व्यवस्थापक विज्ञान थापा रहनेछन्। कलेजका शिक्षक मनोजबाबु पन्तले फिल्मको पटकथा सल्लाहकारको भूमिका निर्वाह गरेका छन्।