‘तेस्रो युवा लघु सिनेमा प्रतियोगिता’ मा ‘ईग्लू’ प्रथम
काठमाडौँ — फिल्म अध्यापन गराउँदै आएको अस्कर अन्तर्राष्ट्रिय कलेजले आयोजना गरेको ‘तेस्रो युवा लघु सिनेमा प्रतियोगिता’मा उज्जवल श्रेष्ठको ‘ईग्लू’ प्रथम भएको छ । २१ वर्षदेखि फिल्म पढाउँदै आएको अस्करको यो प्रतियोगितामा प्रथम बनेका उज्जवलले पुरस्कारमा नगद एक लाख प्राप्त गरेको छ ।
‘ईग्लू’मा लागुऔषधमा फसेकी बहिनी र उसको दाजुबीचको सम्बन्ध प्रस्तुत छ । पहिलो महिला छायांकार शवनम मुखिया, निर्देशकद्वय सुजित बिडारी र नवीन चौहान यो प्रतियोगिताका निर्णायक थिए । उनीहरुले नै विजेता घोषणा गरेका हुन् । प्रतियोगितामा सफल रेग्मीको ‘उल्झन’ दोस्रो बन्दा विप्लव विश्वासको ‘सकर- बकर’ले तेस्रो विजेताको पुरस्कार प्राप्त गर्यो । दोस्रो विजेतालाई नगद पचास हजार र तेस्रोलाई पच्चीस हजार पुरस्कार रकम प्रदान गरिएको हो ।
त्यस्तै, प्रतियोगितामा ‘जुरी’ पुरस्कार मिङ्ला लिम्बूको ‘खेने नु आङ्गा’ले पायो । जुरी पुरस्कारसहित सबै विजेतालाई आयोजकले कलेज भर्नामा ५० प्रतिशत छात्रवृत्ति प्रदान गर्ने घोषणा गर्यो । २० वर्षमुनिका प्रतिभाहरूलाई पहिचान गर्ने उद्देश्यका साथ सुरूवात भएको यस प्रतियोगितामा यो वर्ष ४० भन्दा बढी युवा फिल्मकर्मी सहभागी थिए ।
त्यसमध्ये २१ प्रतिस्पर्धीका फिल्म प्रतिस्पर्धाका लागि छानिएको आयोजक कलेज अस्करले जनाएको छ ।