अस्कर कलेजमा साउन १ देखि ‘फर्स्ट ड्राफ्ट’ मञ्चन हुँदै

काठमाडौंस्थित अस्कर कलेजमा साउन १ गतेदेखि मौलिक नेपाली नाटक ‘फर्स्ट ड्राफ्ट’ मञ्चन हुने भएको छ।
कञ्चन संग्रौलाको लेखन तथा निर्देशनमा तयार नाटक शुक्रबारदेखि कलेजको साधना घरमा मञ्चन हुन लागेको हो।
नाटकमा कञ्चन संग्रौला र अभय बरालको मुख्य भूमिकामा देखिनेछन्।
विसंगत तथा मेटा-थिएटर शैलीमा आधारित ‘फर्स्ट ड्राफ्ट’ अभिनयप्रति समर्पित एक युवती मीराको कथामा केन्द्रित छ।
आफ्नो पहिलो कथा लेख्ने प्रयासमा रहेकी मीरा अनगिन्ती विचार, असंख्य प्रश्न र आत्मद्वन्द्वबीच कथालाई आकार दिन खोजिरहेकी हुन्छिन्। तर कल्पना र यथार्थबीचको सीमारेखा विस्तारै धमिलो बन्दै जाँदा, उनले सिर्जना गरेको पात्र हिरा अचानक उनको सामु उपस्थित हुन्छ।
लेखक तथा निर्देशक कञ्चन संग्रौलाका अनुसार ‘फर्स्ट ड्राफ्ट’ले सिर्जनात्मक प्रक्रियाभित्र लुकेका द्वन्द्व, अस्तित्वको खोजी र कलाकारको आन्तरिक संघर्षलाई रंगमञ्चमा उतारेको छ। नाटकले हास्य, व्यंग्य, मौनता, खेल, संगीत तथा विविध रंगमञ्चीय प्रयोगमार्फत कलाकारको सिर्जनात्मक असुरक्षा, आत्मसंघर्ष, पहिचानको खोजी र अपूर्णताको सौन्दर्यलाई प्रस्तुत गर्ने प्रयास गरेको छ।
ट्रिओ आर्टस् सँगको सहकार्य, द्रष्टा क्रियसनको निर्माणमा बनेको नाटकमा नवीन न्यौपाने र पशुपति राई निर्माताको भूमिकामा छन्। साउन २० गतेसम्म मञ्चन हुने ‘फर्स्ट ड्राफ्ट’ बिहीबारबाहेक हरेक दिन साँझ ५ः१५ बजे प्रदर्शन हुनेछ।
बुधबार र शनिबार भने दुई शो रहनेछन्। नाटकको अवधि करिब १ घण्टा ३० मिनेट छ।